काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको औसत मुद्रास्फीति नियन्त्रणमै रहे पनि जेठ महिनामा उपभोक्ता मूल्यवृद्धिमा उल्लेख्य चाप देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार २०८३ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत मात्रै रहेको थियो।
यद्यपि चालु आर्थिक वर्षको ११ महिनाको औसत मुद्रास्फीति भने २.८९ प्रतिशतमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.२४ प्रतिशतभन्दा कम हो।
जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत पुगेको छ, जबकि अघिल्लो वर्षको सोही महिनामा यो ०.५४ प्रतिशत मात्रै थियो। यस अवधिमा फलफूलको मूल्य सबैभन्दा धेरै १७.४० प्रतिशतले बढेको छ। त्यसपछि घ्यू तथा तेल १५.१० प्रतिशत, माछा तथा मासु ५.२६ प्रतिशत र तरकारी ४.१४ प्रतिशतले महँगिएको छ। भने दाल तथा गेडागुडी उपसमूहको मूल्य सूचकांक ०.९३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति पनि बढेर ५.३७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३.९४ प्रतिशत थियो। यस समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १६.६८ प्रतिशत, यातायात १५.३१ प्रतिशत, मदिराजन्य पेय पदार्थ ७.२० प्रतिशत, शिक्षा ५.५४ प्रतिशत तथा कपडा र जुत्ताचप्पल ५.५३ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।
भौगोलिक आधारमा हेर्दा शहरी क्षेत्रमा महँगीको दबाब ग्रामीण क्षेत्रभन्दा बढी देखिएको छ। शहरी क्षेत्रमा वार्षिक मुद्रास्फीति ५.३८ प्रतिशत रहँदा ग्रामीण क्षेत्रमा ४.७८ प्रतिशत रहेको छ।
क्षेत्रगत रूपमा तराईमा सबैभन्दा बढी ५.७४ प्रतिशत मुद्रास्फीति दर्ता भएको छ। काठमाडौं उपत्यकामा ४.९८ प्रतिशत, पहाडी क्षेत्रमा ५.०७ प्रतिशत तथा हिमाली क्षेत्रमा सबैभन्दा कम ३.७१ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.७५ प्रतिशत महँगी देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४.६१ प्रतिशत मुद्रास्फीति रहेको प्रतिवेदनले देखाएको छ।

