काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन्द्र शाह सरकारले १०० बुँदे घोषणामार्फत विदेशिएका नेपालीलाई स्वदेश फर्काएर रोजगारी दिने प्रतिबद्धता जनाएको भए पनि त्यसको प्रभाव वैदेशिक रोजगारीको तथ्यांकमा देखिएको छैन। आर्थिक गतिविधि अपेक्षित रूपमा विस्तार हुन नसक्दा हजारौं नेपाली अझै पनि रोजगारीका लागि विदेशिन बाध्य भएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ८ लाख ३९ हजार २६६ रहेको थियो। यसअनुसार एक वर्षमा श्रम स्वीकृति लिनेको संख्या ४७ हजार ७९ ले घटेको छ।
यद्यपि श्रम स्वीकृति लिनेको संख्या घट्नुको मुख्य कारण स्वदेशमा रोजगारी बढ्नु नभई नेपाली श्रमिकका प्रमुख गन्तव्य खाडी मुलुकमा देखिएको युद्ध र अस्थिरताका कारण केही समय श्रम स्वीकृति प्रभावित हुनु रहेको बताइएको छ।
गत आर्थिक वर्ष श्रम स्वीकृति लिनेहरूमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्। अघिल्लो वर्षको तुलनामा महिला श्रमिकको संख्या भने सामान्य रूपमा बढेको विभागको तथ्यांकले देखाएको छ।
विभागका अनुसार विदेशिनेमध्ये ४ लाख ८२ हजार ६४३ जना दक्ष श्रमिक रहेका छन्। यस्तै १ हजार ९६ जना उच्च दक्ष, ३ हजार ५७० जना व्यावसायिक, १ लाख १४ हजार ६१४ जना अर्धदक्ष तथा १ लाख ९० हजार २६४ जना अदक्ष श्रमिक वैदेशिक रोजगारीमा गएका छन्।
गन्तव्य मुलुकका आधारमा संयुक्त अरब इमिरेट्स (युएई) नेपाली श्रमिकको पहिलो रोजाइ बनेको छ। एक वर्षमा १ लाख ८३ हजार ५८० जना नेपाली युएई पुगेका छन्। त्यसपछि मलेसियामा १ लाख ३२ हजार ६४६ जना, कतारमा १ लाख ३२ हजार ५१ जना, साउदी अरबमा १ लाख २४ हजार ५८३ जना तथा कुवेतमा ४३ हजार ३६० जना श्रम स्वीकृति लिएर गएका छन्।
खाडी मुलुकसँगै युरोपेली देशतर्फ पनि नेपाली श्रमिकको आकर्षण बढ्दो छ। रोमानियामा एक वर्षमा ३३ हजार ९२० जना र जापानमा २२ हजार २६६ जना नेपाली रोजगारीका लागि गएका छन्। साथै साइप्रस, क्रोएसिया, टर्की, मौरिसस, माल्टा, पोर्चुगल, सर्बिया, बुल्गेरिया, ग्रिस, पोल्यान्ड र अस्ट्रियाजस्ता मुलुकमा पनि नेपाली श्रमिकको संख्या बढ्दै गएको विभागको तथ्यांकले देखाएको छ।
विभागका अनुसार साइप्रसमा ११ हजारभन्दा बढी, क्रोएसियामा ७ हजार ६६२, टर्कीमा ६ हजार ३७० र मौरिससमा ६ हजार ३३४ जनाले गत आर्थिक वर्ष श्रम स्वीकृति लिएका छन्।

