काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार सार्वजनिक गरिएको छ। यसअन्तर्गत २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।
आन्तरिक राजस्व विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ बम्पर उपहारका लागि छनोट भएको हो। विभागले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विजेताको घोषणा गरेको हो।
यसैगरी, अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँ नगद उपहार जितेका छन्।
उपभोक्तामा बिल लिने बानीको विकास गर्दै कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरकारले चालु आर्थिक वर्षदेखि यो योजना सञ्चालनमा ल्याएको हो। योजनाअनुसार हरेक १५ दिनमा १५ जनालाई जनही १ लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँ बम्पर उपहार प्रदान गरिने व्यवस्था छ।
योजनामा सहभागी हुन नेपालभित्र नगद भुक्तानी गरी एकपटकमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी सक्कली बिल लिएका उपभोक्ताले विभागको अनलाइन प्रणालीमा बिल अपलोड गर्न सक्नेछन्। क्यूआरमार्फत १०० रुपैयाँभन्दा बढीको कारोबार भने स्वतः प्रणालीमा समावेश हुने भएकाले बिल इन्ट्री गर्न आवश्यक नपर्ने विभागले जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार योजना कार्यविधि गत असार अन्तिम साता स्वीकृत भएपछि कार्यान्वयनमा आएको हो।

