काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापतिको निर्देशनअनुसार शुक्रबार बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित घन्टी घर केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो।
पार्टी महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको सूचनाअनुसार बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारीदेखि पार्टीको आन्तरिक सांगठनिक व्यवस्थापनसम्मका विषयमा छलफल तथा निर्णय हुनेछन्।
बैठकमा स्थानीय निर्वाचनका लागि तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने प्रस्ताव प्रमुख कार्यसूचीमा राखिएको छ। साथै ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।
रास्वपाले बैठकबाट पार्टीभित्र विभिन्न तहमा मनोनयनसमेत गर्ने तयारी गरेको छ। केन्द्रीय समिति सदस्य, पदाधिकारी र सचिवालय सदस्य मनोनयनसम्बन्धी प्रस्ताव बैठकमा पेस हुनेछ। त्यस्तै पार्टीका विभागीय प्रमुखहरूको मनोनयन गर्ने विषय पनि कार्यसूचीमा समेटिएको छ।
आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी गठन गरिने केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनसम्बन्धी विषयमा समेत बैठकले निर्णय गर्ने तयारी गरेको छ।
स्थानीय तह निर्वाचनका लागि पार्टीले तयार पारेको उम्मेदवार छनोट रूपरेखाबारे देशव्यापी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषय पनि बैठकको कार्यसूचीमा छ। केन्द्रीय समिति सदस्य र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहसम्म यस्तो कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
रास्वपाले आफ्नै मुखपत्र प्रकाशन गर्ने तयारीसमेत गरेको छ। बैठकमा पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि छलफल हुनेछ।
यसअघि रास्वपाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ घोषणा गरी विभिन्न स्थानीय तहका पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट आवेदन आह्वान गरिसकेको छ। भदौ ५ को बैठकमा उम्मेदवार छनोट रूपरेखा अनुमोदन गर्ने कार्यसूची राखिएसँगै पार्टीले स्थानीय निर्वाचनको उम्मेदवार छनोट र सांगठनिक तयारीलाई थप औपचारिक रूपमा अघि बढाउन लागेको देखिएको छ।

