काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि सरकारले कार्यविधि तयार गरेको जानकारी दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री खनालले परराष्ट्र मन्त्रालयले तयार गरेको ‘विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि विनियोजित बजेट सञ्चालन गर्ने कार्यविधि, २०८३’ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको बताए।
मन्त्री खनालका अनुसार परराष्ट्र मन्त्रालयले गत साउन २९ गते कार्यविधि अर्थ मन्त्रालयमा पठाएको हो। अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि कार्यविधि कार्यान्वयनमा ल्याइने उनले बताए।
सरकारले चालू आर्थिक वर्षमा विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार तथा घरफिर्तीका लागि स्पष्ट कार्यविधि नहुँदा यसअघि समस्या हुँदै आएको अवस्थामा नयाँ कार्यविधि कार्यान्वयनमा आएपछि उद्धार, राहत तथा घरफिर्तीसम्बन्धी कामलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले धादिङको धुनिवेशी नगरपालिका–जुगाडीका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएपछि शव नेपाल ल्याउन ढिलाइ भएको भन्दै प्रतिनिधिसभा बैठकमा असन्तुष्टि जनाएकी थिइन्।
सांसद तामाङको प्रश्नपछि मन्त्री खनालले संसद्मा उपस्थित भएर विदेशमा अलपत्र नेपालीको उद्धार तथा घरफिर्तीका लागि सरकारले अघि बढाएको प्रक्रियाबारे जानकारी दिएका हुन्।

