काठमाडौं। संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्।
अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शनअनुसार महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब–भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाएको हो।
महालेखा नियन्त्रक कार्यालयको बजेट तथा शोधभर्ना शाखाले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै १५ दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्न निर्देशन दिएको छ।
कार्यालयले सम्बन्धित निकायअन्तर्गत कार्यरत राष्ट्रसेवकलाई हरेक महिनाको १५ दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्न आग्रह गरेको छ। यसमा बजेट वक्तव्य २०८३/८४ अनुसारको कर्मचारी प्रोत्साहन भत्तासमेत समावेश गरिएको छ।
महालेखा नियन्त्रक कार्यालयले अर्थमन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको नीतिगत मार्गदर्शनअनुसार प्रणालीमा आवश्यक व्यवस्था मिलाइसकिएको जनाएको छ।
कार्यालयको २०८३ भदौ १ गतेको निर्णयअनुसार उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन सम्बन्धित कार्यालयलाई अनुरोध गरिएको हो।
अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था लागू भएपछि संघीय सरकारअन्तर्गत कार्यरत कर्मचारीले यसअघि मासिक रूपमा प्राप्त गर्दै आएको तलब तथा भत्ता अब महिनामा दुई पटक प्राप्त गर्ने व्यवस्था भएको छ।

