काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले सातै प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल गरेर प्रतिवेदन तयार पारेको हो।
कार्यदलका सदस्य सचिव तथा एमाले महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिइएको थियो। कार्यदलले तयार पारेको प्रतिवेदनमा पार्टीको संगठनात्मक अवस्था, निर्वाचनमा पार्टीको प्रदर्शन तथा आगामी दिनमा गर्नुपर्ने पुनर्गठनबारे सुझाव समेटिएको छ।
प्रतिवेदनमा पार्टी कमजोर बन्नुमा नेतृत्वले जिम्मेवारी लिनुपर्ने विषयसमेत उल्लेख गरिएको छ। छलफलका क्रममा नेता तथा कार्यकर्ताले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको हैसियतले पार्टीको कमजोर अवस्थाको जिम्मेवारी लिनुपर्ने सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, पार्टीको संगठनात्मक संरचनासँगै नेतृत्वमा समेत पुनर्गठन गर्नुपर्ने सिफारिस कार्यदलले गरेको छ। संगठनलाई थप प्रभावकारी बनाउन संरचनागत सुधार आवश्यक रहेको निष्कर्ष प्रतिवेदनमा समेटिएको बताइएको छ।
कार्यदलले तयार पारेको प्रतिवेदनलाई अन्तिम रूप दिन बाँकी रहेका बेला पार्टी अध्यक्ष ओलीले पुनर्लेखन गर्न निर्देशन दिएको बताइएको छ। ओलीको निर्देशनपछि कार्यदलले तयार पारेको प्रतिवेदन अलपत्र परेको छ।
सातै प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल गरेर तयार पारिएको प्रतिवेदनमा पार्टीको आगामी दिशा, संगठन सुदृढीकरण र नेतृत्व सुधारका विषयमा महत्वपूर्ण सुझाव समेटिएको बताइएको छ।

