काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने स्वास्थ्यसम्बन्धी कारण खुलाउँदै संघीय संसद् सचिवालयमा चिकित्सकीय प्रतिवेदन बुझाएका छन्।
स्वास्थ्य समस्याका कारण कालो चस्मा आवश्यक पर्ने भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहितको पत्र सचिवालयमा पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिएका छन्।
यसअघि सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति बैठकले सदनभित्र कालो चस्मा लगाएर उपस्थित हुन नपाउने निर्णय गरेको थियो। तर, स्वास्थ्यसम्बन्धी विशेष कारण भए चिकित्सकीय प्रतिवेदनसहित सचिवालयमा पत्र बुझाउन सकिने व्यवस्था गरिएको थियो।
सोही व्यवस्थाअनुसार प्रधानमन्त्री शाहले आफ्नो स्वास्थ्य प्रतिवेदन सचिवालयमा पठाएका हुन्।
प्रतिवेदनअनुसार प्रधानमन्त्री शाहलाई उज्यालो प्रकाश सहन कठिन हुने तथा आँखा सुक्खा हुने समस्या रहेको उल्लेख छ। उनले साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए।
लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेको परीक्षणपछि उज्यालोमा हेर्न असहज हुने भएकाले नियमित रूपमा आइड्रप प्रयोग गर्न तथा आवश्यकताअनुसार कालो चस्मा लगाउनुपर्ने सुझाव दिइएको जनाइएको छ।
यसैबीच, बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको छ।

