काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा संसदीय दलका नेता उद्धव थापालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पार्टीको निर्णयविपरीत नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित बागमती प्रदेश सरकारलाई समर्थन गरेको भन्दै थापामाथि कारबाही गरिएको हो ।
राप्रपाले यसअघि नै थापालाई सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर पार्टीको निर्देशन पालना नगरी सरकारलाई समर्थन कायम राखेपछि उनलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ ।
पार्टीको निर्णयविपरीत संसदीय गतिविधि सञ्चालन गरेको र पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै थापाको पार्टी सदस्यता समेत खारेज गरिएको हो । राप्रपाले प्रदेश सरकारमा सहभागी वा सरकारलाई समर्थन गर्ने अन्य नेता तथा प्रदेशसभा सदस्यले समेत पार्टीको निर्णय उल्लंघन गरे कारबाही गरिने संकेत गरेको छ ।
उद्धव थापामाथिको कारबाहीसँगै बागमती प्रदेश सरकारलाई समर्थन गर्ने विषयमा राप्रपाभित्र देखिएको विवाद थप सतहमा आएको छ ।
यसैबीच, राप्रपाका नेता कमल थापाले उद्धव थापामाथि गरिएको कारबाहीप्रति औपचारिक असहमति जनाएका छन् । पार्टीले पर्याप्त छलफल र विधानअनुसारको प्रक्रिया पूरा नगरी कारबाही गरेको भन्दै उनले निर्णयमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका हुन् ।
थापाले आफू मात्र नभई पार्टीका केही अन्य नेताहरूले समेत उद्धव थापामाथिको कारबाहीप्रति असहमति जनाएका छन् । उनले पार्टीभित्र कुनै पनि निर्णय गर्दा विधान र स्थापित प्रक्रियाको पालना हुनुपर्ने बताएका छन् ।
पत्रकारहरूसँग कुरा गर्दै कमल थापाले उद्धव थापामाथि गरिएको कारबाहीलाई निरंकुश शैलीको निर्णयका रूपमा टिप्पणी गर्दै आफूहरू उक्त निर्णय स्वीकार गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।
उनले पार्टीको विधानअनुसार संसदीय दलका नेतामाथि कारबाही गर्न आवश्यक प्रक्रिया र संस्थागत छलफल हुनुपर्नेमा त्यसो नभएको दाबी गरे ।
यसअघि राप्रपाले पार्टीको निर्देशनविपरीत बागमती प्रदेश सरकारलाई समर्थन गरेको भन्दै उद्धव थापालाई समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।

