काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन सम्बन्धित मतदातालाई आफ्नो विवरण जाँच गरी आवश्यक भए सच्याउन आग्रह गरेको छ।
आयोगका अनुसार मौजुदा मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि २०८३ असोज १ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ। नामावलीमा रहेका विवरण यथार्थ र अद्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने आयोगले जनाएको छ।
आयोगले मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायतका विवरणमा त्रुटि भए सच्याउन निवेदन दिन आग्रह गरेको छ। कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सम्बन्धित निर्वाचन कार्यालयमा जानकारी गराउनसमेत आयोगले अनुरोध गरेको छ।
त्यस्तै, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न र बसाइँसराइँ वा विवाहका कारण स्थायी ठेगाना परिवर्तन भएको भए सोहीअनुसार मतदाता नामावलीमा ठेगाना अद्यावधिक गर्न आयोगले आग्रह गरेको छ।
मतदाताले आवश्यक सूचनासहित सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछन्। आयोगले उपलब्ध गराएको अनलाइन प्रणालीमार्फत समेत विवरण सच्याउन वा अद्यावधिक गर्न सकिने जनाएको छ।
मतदाता नामावलीको शुद्धता र नियमित अद्यावधिकता स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि महत्वपूर्ण आधार रहेको आयोगले जनाएको छ।
नामावलीमा रहेका त्रुटि, दोहोरो नाम वा अन्य गलत विवरण सच्याउन सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वास आयोगले व्यक्त गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा मतदाता नामावलीलाई व्यवस्थित र विश्वसनीय बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरिएको छ।

