काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकले स्वास्थ्य बीमाबारे राखेको जिज्ञासाको जवाफ दिँदै वाग्लेले यस्तो बताएका हुन्।
उनका अनुसार गत आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि अघिल्लो सरकारले १० अर्ब रुपैयाँ विनियोजन गरेको थियो। उक्त रकम अपुग भएपछि आफू अर्थमन्त्री बनेपछि थप ११ अर्ब रुपैयाँ व्यवस्था गरिएको उनले बताए।
चालु आर्थिक वर्षका लागि भने स्वास्थ्य बीमाको बजेट ५ अर्ब रुपैयाँ बढाएर १५ अर्ब रुपैयाँ पुर्याइएको वाग्लेले स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमामा सरकारको दायित्व बढ्दै गएको भए पनि सरकारले गरेको लगानीअनुसार नागरिकले प्रभावकारी स्वास्थ्य सेवा पाएका छन् कि छैनन् भन्ने विषयमा अध्ययन आवश्यक रहेको बताए।
उनले सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम निरन्तर सञ्चालन भइरहेको र यसलाई थप प्रभावकारी बनाउने विषयमा अध्ययन भइरहेको जानकारी दिए।

