- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्।
- नुवाकोट, धादिङसहित तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ।
- सम्भावित उद्धार तथा राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने मेडिकल टिम, नेपाल स्काउट र रेडक्रसलगायत निकायसँग समन्वय अघि बढाइएको छ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको र प्रभावित क्षेत्रमा आवश्यक उद्धार तथा राहतको काम अघि बढाइएको जानकारी दिएका हुन्।
उनका अनुसार प्रभावित क्षेत्रमा मेडिकल टिम परिचालन गर्न तथा नेपाल स्काउट, नेपाल रेडक्रसलगायत निकायसँग समन्वय गरेर आवश्यक कदम चाल्न निर्देशन दिइएको छ।
बाढीको जोखिम तल्लो तटीय क्षेत्रमा समेत देखिएपछि नुवाकोट, धादिङसहितका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। प्रभावित क्षेत्रका नागरिकलाई एसएमएस र फोनमार्फत समेत सुरक्षित स्थानमा जान सतर्क गराइएको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले सम्भावित उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरलाई समेत तयारी अवस्थामा राख्न भनिएको जानकारी दिएका छन्।
उनले बाढी प्रभावित तथा तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सम्बन्धित सरकारी तथा सुरक्षा निकायबाट आउने उद्धारसम्बन्धी आधिकारिक सूचनाको प्रतीक्षा गर्नसमेत उनले अनुरोध गरेका छन्।
भोटेकोशीमा आएको आकस्मिक बाढीपछि सरकारले सुरक्षा निकाय, विपद् व्यवस्थापन प्राधिकरण, स्वास्थ्यकर्मी तथा मानवीय सहायता निकायलाई परिचालन गर्दै खोज, उद्धार र राहतको काम अघि बढाएको हो।

