- त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ भने खोजीका क्रममा एक जनाको शव निकालिएको छ।
- लाङटाङ हाइड्रोको सुरुङभित्र खोजी गर्दा दुई शव फेला परेका छन्। त्रिशूली ३ ‘बी’, चिलिमे, माथिल्लो त्रिशूली १ लगायत आयोजनामा पनि खोज तथा उद्धार जारी छ।
- भदौ १९ गते दिउँसो ३ बजेसम्म हवाई साधनबाट २९ जनाको उद्धार गरिएको छ भने टिमुरेदेखि नवलपरासी पूर्वसम्म ९ हजार ३ सयभन्दा बढी नेपाली सैनिक खोज, उद्धार तथा राहतमा खटिएका छन्।
काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा केन्द्रित खोज तथा उद्धारका क्रममा त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार गरिएको छ। सोही स्थानबाट एक जनाको शवसमेत निकालिएको छ भने लाङटाङ हाइड्रोको सुरुङभित्र थप दुई शव फेला परेका छन्।
नेपाली सेनाले सार्वजनिक गरेको भदौ १९ गते दिउँसो ३ बजेसम्मको खोज तथा उद्धार विवरणअनुसार त्रिशूली ३ ‘ए’ मा नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बलका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ।
संयुक्त टोलीले सुरुङभित्र फसेकामध्ये दुई जनालाई जीवितै उद्धार गरेको हो। उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित वीरेन्द्र अस्पताल छाउनी ल्याइएको छ र उपचार भइरहेको छ। खोजीका क्रममा उक्त स्थानबाट एक जनाको शवसमेत निकालिएको छ। सुरुङमा थप खोज तथा उद्धार जारी छ।
लाङटाङ हाइड्रोमा नेपाली सेनाका २५ र गैरसैनिक दुई जनासहितको संयुक्त टोली सुरुङभित्र प्रवेश गरेको छ। खोजीका क्रममा सुरुङभित्र दुई शव फेला परेको सेनाले जनाएको छ। त्यहाँ पनि थप खोजी जारी राखिएको छ।
त्रिशूली ३ ‘बी’ मा नेपाली सेनाका ८९, तीन गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले आयोजनाको कार्यालय र आवास रहेको क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्न उत्खनन उपकरणबाट बाटो बनाउने र माटो तथा गेग्रान पन्छाउने काम गरिरहेको छ।
उक्त आयोजनाको अडिट १ बाट टोली ४२६ मिटरभित्र प्रवेश गरिसकेको छ। अडिट १ बाट उत्खनन उपकरण प्रवेश गराउन चालकसहितको टोलीलाई त्रिशूली ३ ‘ए’ सँग सम्पर्क गराउने कामसमेत भइरहेको सेनाले जनाएको छ।
चिलिमे जलविद्युत् आयोजनामा विदेशी सदस्यसमेत रहेको संयुक्त टोलीले जेनेरेटर र लेदो तान्ने पम्पको सहायताले सुरुङभित्रको लेदो हटाउने काम गरिरहेको छ।
माथिल्लो त्रिशूली १ को हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले र्याफ्ट र डुङ्गाको प्रयोग गरी खोजी गरिरहेको छ। सुरुङभित्र जम्मा भएको पानी निकाल्ने काम पनि सँगसँगै भइरहेको छ।
यसैबीच हवाई खोज तथा उद्धार पनि जारी छ। नेपाली सेनाका सात र गैरसैनिक छ गरी १३ वटा हवाई साधनमार्फत भदौ १९ गते दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको उद्धार गरिएको छ।
बाढीले पुल तथा सडक पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि सम्पर्क पुनःस्थापनाको काम पनि अघि बढाइएको छ। देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ टोलीका ५५ जना परिचालन भएका छन्। टोलीले पुलको आधार निर्माण गरिरहेको छ।
त्यहाँ जडान गर्न गजुरीमा रहेको एक्रो पुलका केही भाग त्रिशूली पुर्याइसकिएको छ भने बाँकी सामग्री ढुवानी भइरहेको छ।
हवाई तथा सुरुङ केन्द्रित उद्धारसँगै जमिनबाट पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला र बस्तीमा चिकित्सक अधिकृतसहित पैदल गस्ती गरी स्थानीयलाई स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको सेनाले जनाएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्मका बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरूले अन्य निकायसँगको समन्वयमा बेपत्ता तथा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक खुलाउने र आपत्कालीन उपचारलगायत काम गरिरहेका छन्।

