काठमाडौं । बाढी तथा पहिरो प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। नेपाली सेनाका अनुसार २०८३ भदौ २६ गते साँझ ५ः३० बजेसम्म हवाई साधनमार्फत थप ३० जनाको उद्धार गरिएको छ। यससँगै हालसम्म हवाई साधनमार्फत ४ हजार १३७ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये ३ हजार ८५४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले खोजी कार्य गरिरहेको छ। यस्तै, लाङटाङ हाइड्रोमा नेपाली सेनाको टोलीले टनेलभित्र खोजी कार्य जारी राखेको छ।
चिलिमे हाइड्रोमा विदेशीसमेत सहभागी संयुक्त टोलीले टनेलभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ। हेभी इक्विपमेन्ट लैजान टनेलसम्म बाटो निर्माणको कामसमेत सम्पन्न भएको छ। थप खोजी कार्यलाई तीव्र पारिएको सेनाले जनाएको छ।
लाङटाङ माथिल्लो त्रिशूली–१ को हाकुबेशीस्थित अडिट–१ टनेलमा नेपाली सेनाको टोलीले ड्रोनमार्फत टनेल आसपास करिब २०० मिटर क्षेत्रको रेकी गरी खोजी गरिरहेको छ। हालसम्म त्यहाँबाट केही फेला परेको छैन।
त्रिशूली–३ए जलविद्युत् आयोजनाको पावरहाउस तथा टनेल क्षेत्रमा संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ। त्रिशूली–३बी आयोजनामा पनि संयुक्त टोलीबाट खोजी कार्य भइरहेको छ।
यसैबीच, रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायत प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोजी कार्य भइरहेको छ।
स्याफ्रुबेसी होल्डिङ सेन्टरमा बाढी प्रभावितका लागि सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ५४ जनाले स्वास्थ्य सेवा लिएका छन्। नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज ८५ जनाले स्वास्थ्य सेवा पाएका छन्। यी केन्द्रबाट हालसम्म ३ हजार ६६५ जनाले स्वास्थ्य सेवा लिइसकेका छन्।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन्।

