काठमाडौं । दसैँ, तिहार र छठ पर्वमा घर फर्किने यात्रुलाई लक्षित गर्दै सरकारले असोज २३ गतेदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ।
यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले चाडपर्वलाई लक्षित गरी देशभर अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार असोज २३ गतेदेखि यात्रुले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट लिन सक्नेछन्।
यसअघि वर्षा, बाढी तथा पहिरोका कारण विभिन्न मुख्य राजमार्ग अवरुद्ध हुँदा यातायात सञ्चालनमा समस्या देखिएको थियो। सरकारले अवरुद्ध सडकखण्डको तत्काल मर्मतसम्भार गरी यातायात आवागमन सहज बनाउने प्रतिबद्धता जनाएपछि व्यवसायीहरू अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हुन्।
चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सहज र सुरक्षित यातायात व्यवस्थापनका विषयमा समेत बैठकमा छलफल भएको थियो।
बैठकले लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने निर्णय गरेको छ। यस्तै, टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्ने तथा टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।
बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

