काठमाडौं । सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोप लागेका सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेका छन्।
गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको भन्ने विषयमा सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि मन्त्रालयमा सिफारिस प्राप्त भएको थियो।
सोही सिफारिसका आधारमा मन्त्रालयले दाहालमाथि लागेको अभियोगको जाँचबुझ प्रक्रिया अघि बढाएको हो। मन्त्रालयको असोज १९ गतेको निर्णयअनुसार उक्त विषयमा जाँचबुझ गर्न जाँचबुझ अधिकृतसमेत तोकिएको छ।
गृह मन्त्रालयले तोकिएका जाँचबुझ अधिकृतलाई दाहालमाथि लागेको अभियोगका सम्बन्धमा आवश्यक जाँचबुझ गरी तीन दिनभित्र प्रतिवेदन मन्त्रालयमा पेस गर्न निर्देशन दिएको छ।
मन्त्रालयले निजामती तथा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरणसम्बन्धी व्यवस्था प्रचलित कानुनमा स्पष्ट रहेको जनाएको छ। प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पदअनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ।

