काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पादेखि चुम्लिङको बीचमा गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको छ भने खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
बाढीले झोलुंगे तथा पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण र आसपासका घरहरू बगाएको छ।
बाढीको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) जिल्लाका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएसमार्फत सूचना पठाएको थियो। त्यस्तै, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र बाढी पूर्वानुमान महाशाखामार्फत गोरखादेखि धादिङ हुँदै चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई दुईपटक गरी करिब दुई लाख एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिएको छ।
प्रभावित गोरखाको सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।
उद्धार तथा प्रतिकार्यका लागि नेपाली सेनाका तीनवटा स्पेसल फोर्ससहित १२७ जना, नेपाल प्रहरीका १३३ जना र सशस्त्र प्रहरी बल नेपालका १७७ जना गरी ४३७ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाका चारवटा हेलिकप्टरसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
बाढी आउनुको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीनजनाको टोली ड्रोन लिएर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा थप ५० जनाको टोलीलाई परिचालनका लागि तयारी अवस्थामा राखिएको छ।
प्राधिकरणको विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठक निरन्तर बसिरहेको छ। बैठकबाट बाढीको अवस्था अनुगमन, जोखिम विश्लेषण, आवश्यक सूचना सम्प्रेषण तथा उद्धार र राहत कार्यका लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरण भइरहेको जनाइएको छ।
प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ। सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली सडक सञ्चालन तथा बेलीब्रिज जडानको सम्भाव्यता अध्ययनका लागि परिचालन भएको छ। आरुघाटमा बेलीब्रिज जडानको तयारीसमेत थालिएको छ।
गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तथा स्वास्थ्य र खाद्य स्वच्छतासम्बन्धी निकायको नेतृत्वमा प्रदेश र स्थानीय तहका आपत्कालीन चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीलाई तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सम्बन्धित मन्त्रालय र कम्पनीहरूलाई निर्देशन दिइएको छ।
सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन र क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन आवश्यक कदम अघि बढाएको जनाएको छ।
यसैबीच, बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरिएको छ।

