नेपाल मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा विशेषगरी हिजो दिउँसो विभिन्न स्थानमा वर्षा भएको थियो भने हिमाली क्षेत्रमा हिमपातसमेत सुरु भएको थियो। तर, पछिल्लो १२ घण्टामा ठूलो वर्षा भएको छैन। मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेतका एक–दुई स्थानमा मात्र छिटपुट वर्षा भएको छ। अन्य अधिकांश भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आइतबार बिहान तराईका विभिन्न स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको थियो। काठमाडौं र पोखरालगायत उपत्यका तथा खोचमा समेत हुस्सु देखिएको थियो। अहिले भने अधिकांश स्थानमा हुस्सु–कुहिरो हट्दै गएको र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा मात्र बाँकी रहेको अधिकारीले जानकारी दिएका छन्।
विभागका अनुसार आइतबार दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहे पनि यसको प्रभाव सामान्य रहनेछ।
आइतबार राति पूर्वी भूभागको मौसम थप सफा हुँदै जानेछ भने पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। सोमबार बिहान पनि तराई, उपत्यका तथा खोचमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहे पनि आइतबार बिहानको तुलनामा कम हुने र छिट्टै हट्ने अनुमान गरिएको छ।
सोमबार दिउँसो हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा छिटपुट वर्षा हुन सक्ने भए पनि सोमबार बेलुकादेखि मौसममा थप सुधार हुँदै जाने मौसमविद् अधिकारीले बताएका छन्।
उनका अनुसार समग्रमा आज र भोलि केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसँगै छिटपुट वर्षा र हिमपातको सम्भावना रहे पनि त्यसपछि मौसम अझ घमाइलो हुँदै जानेछ।
विभागले आइतबार बिहान जारी गरेको मौसमी चेतावनी नक्सामा देशका कुनै पनि स्थानमा उल्लेखनीय मौसमी जोखिम नरहेको जनाउँदै हरियो संकेत जारी गरेको छ। आगामी पाँच दिनको मौसम पूर्वानुमानमा समेत कुनै मौसमी चेतावनी नरहेको विभागले जनाएको छ।
यद्यपि मौसमको अवस्था परिवर्तन हुन सक्ने भएकाले विभागले नियमित रूपमा जारी गर्ने अद्यावधिक मौसमी सूचना तथा पूर्वानुमान हेर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

