काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज शुक्रबार देशभर मनाइँदैछ। धनतेरसका अवसरमा सुन, चाँदी, तामा, पित्तललगायत धातुका नयाँ भाँडाकुँडा तथा गरगहना किनेर घरमा ल्याउने परम्परा छ।
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार धनतेरसका दिन नयाँ भाँडाकुँडा किनेर घरमा राख्दा लक्ष्मीको स्थायी बास हुने विश्वास गरिन्छ। यसै विश्वासका कारण आज बिहानैदेखि भाँडा पसल तथा सुनचाँदीका पसलमा ग्राहकको भीड लागेको छ।
धनतेरसलाई धन त्रयोदशी तथा भाण्ड त्रयोदशीका नामले पनि चिनिन्छ। यस दिन तामा, पित्तल, चाँदी र सुनका भाँडाकुँडा तथा गरगहना खरिद गर्ने चलन छ। धनतेरसका दिन किनेर ल्याइएका भाँडाकुँडामा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन पूजा गर्ने परम्परा रहेको छ।
धनतेरसका लागि बजारमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडाकुँडा आकर्षक रूपमा सजाएर राखिएका छन्। धार्मिक विश्वाससँग जोडिएको यस पर्वमा नयाँ सामग्री खरिद गर्दा धनधान्य र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ।
यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवारका सदस्य सङ्ख्याअनुसार यमदीप दान गर्ने परम्परासमेत छ। यसरी दीपदान गर्दा यमयातनाबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले जानकारी दिएका छन्।
त्यस्तै, आज धनका अधिपति कुबेरको जन्मदिन रहेको शास्त्रीय तथा पौराणिक मान्यता छ। यस अवसरमा कुबेरको विशेष पूजाआराधना गर्ने चलन पनि रहेको छ। केही समुदायले धनतेरसकै दिन कुबेरको पूजा गर्ने भए पनि कतिपयले लक्ष्मीपूजाका दिन पूजा गर्ने परम्परा अपनाउँदै आएका छन्।
दीपावली, तिहार तथा यमपञ्चकका नामले परिचित यो पर्व नेपालीहरूको दसैँपछिको दोस्रो ठूलो चाडका रूपमा मनाइन्छ। आजदेखि कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठान तथा सार्वजनिक स्थानमा दीप प्रज्वलन गरी झिलिमिली बनाउने परम्परा छ।
यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने शनिबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार धनवन्तरी जयन्ती पनि शनिबार नै मनाइनेछ।

