चितवन । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घोप्टेभीरमा जोखिमयुक्त पहिरो हटाउन दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मङ्सिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने जनाएको छ।
घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको घटनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गरेर जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
उक्त समयावधिमा सो सडकखण्डमा सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहने भएकाले सम्बन्धित सबैलाई सोहीअनुसार यात्रा व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ।
सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रुले आफ्नो यात्रा योजना बनाउन तथा सम्भावित असुविधाबाट बच्न प्रशासनले आग्रह गरेको छ।

