काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज बिहिबारबाट नेपालमा शुरु हुँदैछ । नेपाल, यूएई र पपुवा न्युगिनी (पीएनजी) बीचको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखला कीर्तिपुर मैदानमा हुन लागेको हो । जसअनुसार नेपालले आज पीएनजीको सामना गर्दैछ ।
उक्त श्रृंखलाबाट तेस्रो, चौथो र पाँचौं स्थानमा रहने टोलीको तय हुनेछ । घरेलु मैदानमा हुन लागेको श्रृंखलामा नेपालले युएई र पपुवा न्युगिनीसँग समान २–२ खेल खेल्नेछ ।
खेल अघि तीनै टोलीले तालिकामा अंक सुधार गर्ने लक्ष्यका साथ खेल प्रदर्शन गर्ने बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमले अन्तिम सिरिज कठिन भएपनि जीतको लक्ष्यका साथ मैदान उत्रने जनाएको छ ।
त्यस्तै युएई र पपुवा न्युगिनी पीएनजीका प्रशिक्षक र कप्तानहरुले पनि अन्तिम सिरिजमा ध्यान केन्द्रीत गरेको बताएका छन् । नेपालले बिहीबार पीएनजीसँग, आइतबार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ ।