अध्येता किरण वि.क दलभित्रको लोकतन्त्र, लिडरसिप र अन्तर्राष्ट्रिय मामिलामा रुची राख्छन् । उनी फिल्म क्षेत्रमा पनि आवद्ध छन् । उनै वि.कसँग बदलिँदो राजनीतिक परिवेशको सेरोफेरोमा रहेर कुराकानी गरिएको छ । प्रस्तुत छ उनै वि.क सँग गरिएको कुराकानी ।
माओवादीको भविष्यलाई लिएर माओवादीहरुले चिन्ता लिएको पाइन्छ ? माओवादीको भविष्य के होला ?
हरेक पार्टीले आफ्नो भविष्यलाई लिएर चिन्तित हुनुपर्छ । त्यो स्वभाविक कुरा हो । जनयुद्धको १० वर्ष र त्यसयताका १८ वर्ष गरेर यो पार्टी २८ वर्षको जवान भएको छ ।
त्यसअर्थमा पार्टी माओवादी युवा अवस्थामा छ । तर जनयुद्ध शुरु गर्दाको सामाजिक आर्थिक राजनीतिक अवस्था, शान्तिप्रक्रियाको १८ वर्ष र अब आउँदै गरेको समय फरक हो । परम्परागत एजेण्डाले अब कुनै दल पनि चल्दैनन् । माओवादीहरु चिन्तित अवस्य हुनुपर्छ, भविष्य सकिन्छ भनेर होइन कि, कसरी इतिहासलाई, विरासतलाई जोगाउँदै नयाँ पार्टी बन्ने भनेर ।
अहिलेको माओवादीले नयाँ युगको पार्टी बन्न के गर्नुपर्ला ?
तपाईले सोझैं प्रश्न गर्नुभयो । सर्वप्रथम त अहिलेको पदाधिकारी पुनर्गठन गर्नुपर्छ । नेतृत्वले अलि पुरानाको व्यवस्थापनमा जोड दिएको देखिन्छ ।
लिडरसिपले ‘पुरानाको व्यवस्थापन’ भन्दा पनि ‘नयाँको ग्रोथ’ मा ध्यान दिनुपर्छ । त्यो टेक्निकल्ली भन्दा आदरणीय कमरेड रेखा शर्मालाइ सचिव बनाइनुपर्छ । माओवादी केन्द्रले रेखा शर्मालाई सचिव नबनाएर अन्याय गरेको छ ।
अहिलेको पदाधिकारीमा रेखा कमरेड कृष्णध्वज कमरेडले जति यातना, दुःख पाको को छ ? कमिटी पूर्ण समानुपातिक बनाइनुपर्छ, ५० प्रतिशत महिला, ५० प्रतिशत युवा हुनुपर्छ र नयाँ मुद्दाको खोजी गर्ने हुनुपर्छ । नियमित अधिवेशन हुनुपर्छ ।
पछिल्लो समय रास्वपा लगायत अन्य साना दलहरु आइरहेका छन् । तिनीहरुले माओवादीलाई कति हानी गर्छ ?
हानी सबै पार्टीलाई गर्छ । त्यसो हुँदा माओवादीलाई पनि हानी गर्छ । पपुलारिज्ममा उदाएको पार्टी लामो समय जाने अवस्था त रहन्न तर तत्काल अरुको मत घटाउने त देखिन्छ । माओवादी एजेण्डा स्थापित गर्न अगाडि तर त्यसलाई मतमा परिणत गर्न पछाडि देखियो । पहिले माओवादी कम्युनिष्ट कमिटी प्रणालीमा गएन ।
तदर्थमा चल्यो, पार्टी लथालिंग भयो । तर अब पुरानो कम्युनिष्ट कमिटी प्रणालीबाट चल्न खोज्दा झन् समस्या आउँछ । अब सबै पार्टी मास बेस्ड, एजेण्डा बेस्डमा जानुपर्छ । क्याडर बेस्ड पार्टी पुरानो प्रणाली हो । नयाँ पार्टीहरु मास बेस्ड हुन् ।
बेलाबेलामा माओवादी नेताहरुलाई हेग पुर्याउने कुरा पनि उठ्छ नि ?
हो उठ्थ्यो तर उठाउनेलाई पनि विदेशीले पत्याउन छोडेछ क्यारे । त्यति सुनिन्न । पश्चिमाले पनि कहाँ–कहाँ लगानी गरुँन, कहिलेसम्म गरुँन । यो १८ वर्षमा पश्चिमा शक्ति सन्तुलन, पश्चिमा इन्टेरेस्ट पनि बदलिएको छ । माओवादी विरोधीले अरु मुद्दा नपाएर त्यो उठाइराखेको हुन् । तर प्रचण्डलाई हेग पु¥याउने भट्याएर पनि उनीहरूलाई पैसा आउन छोडेको छ । खास कुरा त के हो भने प्रचण्ड यो देशको तीन पटक प्रम भइसके ।
फेरि नेपालको युद्ध विश्वको अरु देशको जस्तो लाखाैँ लाख मान्छे मरेको स्थिति होइन । जनयुद्धमा त्यसबेलाको राजतन्त्र अर्थात् सरकारले बढी मान्छे मारेको छ । देश धेरै अघि बढिसकेको अवस्था छ । विदेशीले खेल्ने ठाउँ छैन । अन्तर्राष्ट्रिय प्राक्टिस हेर्दा पनि त्यो सम्भव छैन । बरु यसमा माओवादीकै कमजोरी रह्यो । शान्ति प्रक्रिया टुंगाउन तर्फ लागेन बरु लिंगरिंग गर्न लाग्यो ।
अहिले प्रम प्रचण्ड शान्ति प्रक्रियालाई टुंगाउन लाग्नुभएको छ । क्याबिनेटमा शान्तिप्रक्रियाको जिम्मा आदरणीय रेखा शर्मालाई दिएको देखिन्छ ।
रेखा शर्मा त्यसबेलाको सेनाबाट चरम यातना पाउने मध्येको एक हुनुहुन्छ । आदरणीय रेखा शर्मा र कृष्णध्वज कमरेडले पाको यातना अहिलेको पुस्तालाई दन्त्यकथा जस्तो लाग्न सक्छ ।
विश्वनै अर्को पोजिसनमा गैसक्यो हेग बेतुकको कुरा हो । रेखा शर्मा त वार हिस्ट्री हो । माओवादीले अन्तराष्ट्रिय रुपमा युद्ध लडेर आएको वुमेन लिडर भनेर विश्वलाई देखाउन सक्छ । माओवादीको त्यसतर्फ ध्यानै छैन । पश्चिमाहरुले पनि आफ्नो क्रान्तिलाइ त सम्मान नै गरेका छन् त ।
अहिलेको सरकारको कामलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
सरकार तुलनात्मक रुपमा राम्रो गरिरहेको छ । सायद प्रचण्डलाई यो अन्तिम कार्यकारी भूमिकामा छु भन्ने लागेको छ क्यारे उहाँ समय खेर फाल्नेमा हुनुहुन्न ।
१० दलीय गठबन्धनको जटिलताको दबाबलाई छोड्ने हो भने सब भन्दा कम विवादित सरकारको रुपमा देखा परेको छ । हेर्नुस् न आइजीपी नियुक्ति सँधै विवादमा पथ्र्याे तर अहिले परेन, मिटरब्याजलाई कानूनको घेरामा ल्याइयो, अयोग्य लडाकुलाई राहत दिने कुरा गरेको छ । सरकारको जोड जनताका दिनदिनै समस्यामा फोकस्ट छ ।