काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीहरुका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिने बताएका छन् ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन क्रममा उनले २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीहरुका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिने बताएका हुन् ।
मैले सदनमा पनि भनेको छु। हिजोका सबै फाइलहरु अब क्रमशः खुल्छन्। खुलाइन्छन्। मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीहरुका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिन्छ। ठूल्ठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्। तिनको खोजीनिती गरिन्छन्। ठूल्ठूला भयानक हत्याकाण्डहरु छन्। ती हत्याकाण्डहरुको खोजीनिती गर्नुछ, उनले भने।