काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलीले लेखा अधिकृत शेखर ढकाललाई घुससहित नियन्त्रणमा लिएको हो।
नगरपालिकाको कार्यालयको विभिन्न मर्मत संभार कार्यको भुक्तानीका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा ढकाललाई नियन्त्रणमा लिइएको हो। उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
यसैबीच ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका वडाध्यक्ष र सोही वडाका सचिवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको नगराइन नगरपालिका–२ का अध्यक्ष बुलन यादव र वडा सचिव अमृतनारायण मिश्रविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
वडाध्यक्ष यादव र सोही वडाका सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरे बापत सेवाग्राहीसँग घुस मागेको सूचना आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट लिएको ७० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको थियो।