काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीपत्नी एवं पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति पुगेकाे जनाएकाे छ । महासचिव देव गुरुङले शाेक वक्तव्य जारी गर्दै दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएकाे उल्लेख गरेका छन् ।
‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ,’ वक्तव्यमा भनिएकाे छ,’ ‘कमरेड सीता दाहालले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिंगो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड प्रचण्ड लगायत सिंगो परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’
वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिइन् ।
पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकाे शाेक वक्तव्यमा उल्लेख छ । दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ ।