काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले अदालतको आदेश,फैसला तथा न्याय सम्पादनको कार्यप्रति आफ्नो पूर्णसम्मान रहेको बताएका छन्। मेयर शाहले राजनीतिक दृष्टिकोणसहित व्यापक अर्थ वा सन्दर्भमा अभिव्यक्त विचारलाई अप्रमाणित रुपमा अदालतको अवहेलनाको विषय बनाइन नहुने उल्लेख गरेका छन् ।
अधिवक्ता वर्षाकुमार झाले दायर गरेको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्दै मेयर शाहले काठमाडौं महानगरपालिकाको प्रमुखको हैसियतमा अदालतको आदेश,फैसला तथा न्याय सम्पादनको कार्यप्रति मेरो पूर्णसम्मान रहेको जनाएका हुन् ।
‘मेरो विचार,अभिव्यक्तिबाट सर्वोच्च,उच्च वा जिल्ला अदालतमध्ये कुन चाहि अदालतको न्याय सम्पादनको कार्यमा अवरोध पुग्यो वा कुन चाहि आदेश वा फैसलाको अवज्ञा भयो भन्ने सम्बन्धमा वस्तुनिष्ठ, यकिन वा औचित्ययुक्त व्यहोरा खुलाउन सक्नु भएको छैन । अपुष्ठ एवं औचित्यहिन निवेदन प्रथम दृष्टिबाटै खारेज भागी छ, मेयर शाहले पेश गरेको लिखित जवाफमा भनिएको छ,’राजनैतिक दृष्टिकोणसहित व्यापक अर्थ वा सन्दर्भमा अभिव्यक्त विचारलाई अप्रमाणितरुपमा अदालतको अवहेलनाको विषय बनाइनु हुँदैन भन्ने मेरो मान्यता रहि आएको छ । ‘