काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिएमा तत्काल सम्पर्क अधिकारीलाई खबर गर्न आग्रह गरेको छ ।
व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिएको गुनासो आएपछि महानगरले सम्पर्क अधिकारी तोक्दै तत्काल खबर गर्न आग्रह गरेको हो ।
महानगरले सम्पर्क अधिकारीको रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ । आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासोलाई तत्काल सुनुवाइ गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । उनले सेवा लिएका ठाउँमा पार्किङ शुल्क लिए तत्काल ९८५१०५१६१० मा सम्पर्क गर्न आग्रह गरे ।
काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ । ऐनका व्यवस्था कार्यान्वयन गर्न गराउन अनुरोध गर्दै महानगरले सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ ।
व्यवस्था कार्यान्वयन गराउन नगर प्रहरीको टोली त्यस्ता ठाउँमा पुगेर जानकारी गराउने गरेका छन् । यति हुँदा पनि कतिपय सेवाग्राहीले शुल्क तिर्नु परेको गुनासो आइरहेपछि महानगरले सम्पर्क अधिकारीमार्फत गुनासो सुन्ने प्रबन्ध मिलाएको हो ।
ऐनमा बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ्ग वापतको शुल्क संकलन गर्न निषेध गरिएको छ । सेवाग्राही वाहेक अन्यसँग मात्र पार्किङ्ग शुल्क लिन सकिनेछ ।
सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ्ग सञ्चालन गर्न अनुमति दिइने छैन । ऐनले निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिनु पर्ने व्यवस्था गरेको छ ।