काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा (एमाले)ले काठमाडौंस्थित नक्सालको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरेको छ ।
हरेक वर्ष असोज ३ गते पर्ने संविधान दिवसलाई यस वर्ष भने राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरी मनाइएको एमालेले जनाएको छ । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न नेताहरू सहभागी भएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए ।
संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा सुवासचन्द्र नेम्वाङ थिए ।
संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।