काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् । बुधबार पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टीका नेता कार्यकर्तालाई वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका हुन् ।
त्यस्तै उनले ०७५ मा एउटा एकता गर्दा पार्टी दुई पटक फुटेको स्मरण गराए । ‘यो वामपन्थी शक्ति नमिली हुँदैन भन्ने कुरा नगर्न साथीहरूलाई आग्रह गर्छु । वामपन्थी शक्ति मिल्नुपर्छ यो कसले नजान्या नयाँ फर्मुला हो र ? मैले राजनीतिक सुरू गर्दा पनि पार्टी विभाजित अवस्थामै थियो । त्यहाँदेखि वामपन्थी एकताको माला जपेको । वामपन्थी एकता जति गरायो त्यति फुट्छ । एउटा एकता गराउँदा दुईवटा फुट्छ । हामीले ०७५ सालमा एउटा एकता गर्दा त्यसपछि दुईवटा फुट्यो । ’
त्यस्तै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानपछि आन्दोलन गर्नुपर्ने आवश्यकता महसुस भएको बताएका छन् । देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता आफूले देखेको उनको भनाइ छ ।