काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भाइरल म्यान दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आजदेखि घोषणा गरिएको आन्दोलनको थप कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ । तीनकुनेमा कार्यक्रम गर्ने अनुमति नभएको बताएको हो ।
प्रसाईँले बिहीबार साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए । उक्त ठाउँमा कार्यक्रमका लागि अनुमति नदिएको प्रशासनले प्रष्ट्याएको छ ।
काठमाडौं प्रशासनका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीतका गतिविधि गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
‘सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने व्यहोरा अवगत गराइन्छ’, प्रशासनले भनेको छ ।