काठमाडौं । समाजवादी मोर्चाले अध्यादेश ल्याएरै भए पनि संघीयता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।
बुधबार बिहान बालुवाटारमा बसेको मोर्चाको बैठकले संविधानमा भएका अनुसूचीलाई व्यवस्थित गर्न अध्यादेश ल्याएरै भए पनि कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकले संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकले सरकारले संघीयताविरोधी शक्तिलाई निस्तेज पार्दै गएको र भ्रष्टाचारको विरोधमा अभियान चलाएर इतिहासमै राम्रो काम गरेको निष्कर्ष निकालेको नेता श्रेष्ठले बताए ।
बैठकमा जिल्लामा गठन हुन बाँकी जिल्ला संयोजन समिति गठन गर्ने र मुख्य शहरमा संघीयता, धर्मनिरपेक्षलगायतमा उठेका सवाल चिर्ने गरी कार्यक्रम गर्नेबारे छलफल पनि भएको उनले बताए ।