काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा व्यक्तिले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन दिएको छ ।
केन्द्रले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
केन्द्रको माघ ५ गते बसेको सचिवस्तरीय बैठकले यसबारे निर्णय गर्दै सोको कार्यान्वयनसम्बन्धी जानकारी केन्द्रलाई उपलब्ध गराउन समेत निर्देशन दिइएको छ ।
लाइसेन्स ट्रायलमा प्रशिक्षक केन्द्रहरूले मनपरी गरिरहेको भन्ने गुनासाका बिच केन्द्रले दिएको निर्देशन कार्यान्वयन भएमा सेवाग्राहीलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
‘सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा दिँदा परीक्षार्थीले आफ्नो सवारी साधन प्रयोग गरी परीक्षा दिनबाट वञ्चित गरिएको र प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गरी परीक्षा दिन बाध्य पार्ने र सो बापत प्रशिक्षण केन्द्रहरूले मनोमानी रूपमा शुल्क असुल्ने गरेको भन्ने उजुरी तथा गुनासो प्राप्त भएको सन्दर्भमा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ लगायत कुनै पनि नेपाल कानुनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नु पर्ने कुनै किसिमका बाध्यात्मक व्यवस्था उल्लेख भएको नदेखिएको हुँदा आम परीक्षार्थीहरूको गुनासो सम्बोधन गर्न ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र सो को कार्यान्वयनको जानकारी यस केन्द्रलाई उपलब्ध गराउन निर्देशन दिइएको ब्यहोरा अनुरोध छ’ केन्द्रको निर्देशनमा भनिएको छ ।