काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । अहिले बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा संविधान जारी भएपछि तत्काल बन्नुपर्ने कानुनको अवस्थाका बारेमा छलफल हुनेछ । त्यस्तै संसदीय समितिमा रहेका विधेयकहरू तथा अब बन्ने कानुनमा रास्वपाले उठाउने विषयबारे छलफल हुने बताइएको छ ।
त्यस्तै आगामी संसद अधिवेशनमा पार्टीले उठाउने मुद्दाका विषयमा पनि आजको संसदीय दलको बैठकमा छलफल हुने रास्वपाका सांसदहरूले बताएका छन् । यही २२ माघदेखि संघीय संसदका दुवै सदनको अधिवेशन सुरु हुँदै छ ।
यसअघि रास्वपाका सभापति रवि लामिछानेले संविधान जारी भएपछि तत्काल बन्नुपर्ने कानुनको अवस्था, सरकारले मस्यौदा गरिरहेका कानुनमा रास्वपाले उठाएका मुद्दाहरू तथा हिउँदे अधिवेशनमा पार्टीले उठाउने मुद्दाका सन्दर्भमा तीनवटा प्रश्न पार्टीका सांसदलाई पठाएका थिए । उक्त विषयमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ ।