काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जतिसुकै शक्तिशाली व्यक्ति भए पनि कानुन विपरित काम गर्नेले सजाय पाउनुपर्ने बताएका छन् ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलगायतलाई लक्षित गर्दै प्रतिनिधसभाका सांसद समेत रहेका थापाले सो कुरा बताएका हुन् । ‘राजनीतिक, आर्थिक रुपमा जतिसुकै शक्तिशाली व्यक्ति होस्, सार्वजनिक जग्गा हडप्नेले सजाय पाउनु पर्छ ।’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थापाले भने,’चाहे जग्गा मिच्ने होस्, सहकारी ठग्ने होस् यताको होस् कि उताको होस् दोषीले सजाय पाउनै पर्छ ।’
बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामा छन् । गत माघ १८ गते बिहीबार पक्राउ परेका उनीहरूलाई आज छाड्न काठमाडौं जिल्ला अदालतको आदेश छ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले लय समात्न नसकेको बताएका छन् । उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ । साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उनले जनतामाझ टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताए ।