काठमाडौं । नक्कली कागजात खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा ल्याएका र त्यसको निर्णय प्रक्रियामा संलग्न भएका दुई सय ४९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
कैलालीको टीकापुर नगरपालिका- १ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेतको मिलेमतोमा नक्कली रसिद बनाई जग्गा व्यक्तिका नाममा ल्याइएको अख्तियारले जनाएको छ।
समितिका अध्यक्ष, पदाधिकारी एवं कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिका प्लट घडेरी आफन्तलगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो।
नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्तिविशेष तथा संघ र संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा भ्रष्टाचार भएको अख्तियारको ठहर छ।
नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्थाबमोजिम उपलब्ध गराउनुपर्नेमा सो नगरी नगर विकास समितिका पदाधिकारी तथा कर्मचारीसमेतको संलग्नतामा तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरूसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा साबिकको टीकापुर विकास समितिको नामका नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
भ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले नगर विकास समितिका पदाधिकारी, कर्मचारीहरू तथा प्रथम तहमा समितिको जग्गा आफ्नो नाममा कायम गर्ने–गराउने जग्गाधनी तथा सो जग्गा तहगत बिक्री हुँदै हाल कायम जग्गाधनीहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

 
		 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					
 

