काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्णसमर्थन र सहयोग रहने बताएका छन् ।
भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको भन्दै यस्ता काममा सरकारले हस्तक्षेप नगर्ने उनले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘माथिल्लो तहदेखि तल्ला तहसम्म गलत काम गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन ।’
संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको बताए ।