कैलाली । आफूलाई नेकपा एमाले कैलालीको अध्यक्ष बनाइदिनका लागि अध्यक्ष पदका उम्मेदवारको दौडधुप समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेतासँग बढेको छ ।
नेकपा एमाले भित्र आफ्नो पक्षमा उभिने गतिलो नेता नभेटेपछि एमाले कैलालीका सचिव तथा अध्यक्ष पदमा दावेदार डेजी पाण्डे समाजवादी र नागरिक उन्मुक्ति पाटीका नेताको शरणमा परेका हुन् ।
विगतमा भीम रावलविरुद्ध सबैभन्दा बढी नकारात्मक आलोचना गर्ने युवा नेताको रुपमा आफ्नो पहिचान बनाएका पाण्डे यतिबेला भने उनै भीम रावल निकट झपट रावलको फेर समातेर एमाले कैलालीको अध्यक्ष बन्ने दाउमा लागेका हुन् ।
त्यसका लागि एमाले केन्द्रीय कमिटी सदस्य झपट रावलको पहलमा समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संसदीय दलका नेता दिर्घ सोडारी र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रतन थापासँगको छलफल निकै गोप्य र घनिभूत ढंगले भइरहेको समाचार स्रोतको दावी छ । सोडारी र थापा दुवैजना नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष हुन् ।
तीन दिनअघि झपट रावलको पहलमा सोडारी, थापा, पाण्डेलगायत नेताहरु कर्णाली चिसापानीमा रहेको सिद्धार्थ होटलमा गोप्य बैठक बसेर साम, दाम, दण्ड, भेद जे गरेर हुन्छ गर्ने तर अध्यक्षमा डेजीलाई नै अध्यक्ष बनाउन लागिपर्ने प्रतिवद्धतासहित छुटेका थिए ।
खासगरी एमाले पार्टीको विरासतमा आफ्नो राजनीतिक छवी बनाएर लाभ लिएका यी दुवै जनाले पार्टी छोडेर अरु पार्टीमा लागे पनि एमाले कैलालीमा ढुंगा हानेर आफू अनुकूलको नेतृत्व बनाउन क्रियाशील रहेको स्रोतको भनाइ छ । एमाले कैलालीको अध्यक्ष मात्रै भए पनि आफू अनुकूल हुँदा भोलिका दिनमा आफू अनुकूलका निर्णय गर्न पाइने र राजनीतिक लाभ लिन सकिने स्वार्थमा सोडारी र थापा लागिपरेका हुन् ।
स्रोतका अनुसार डेजी पाण्डे काम कम गफ बढी गर्ने र नेतृत्वको आलोचना मात्रै गर्ने नेताका रुपमा परिचित छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै अध्यक्ष रतन थापालाई अध्यक्ष पदबाट हटाउने कार्यमा पनि तत्कालीन कैलाली इन्चार्ज नारदमुनी रानासँगको मिलेमतोमा यीनै सचिव पाण्डेको प्रमुख भूमिका थियो । तर अहिले आफू अध्यक्ष बन्नका लागि पछिल्लो समय कर्ण थापा निकटका रानासँग साँठगाँठ गरेर समाजवादी र उन्मुक्ति पार्टीको पाउमा शिर झुकाउन थालेपछि एमालेभित्र पाण्डेको यो कार्यको निकै चर्को आलोचना भइरहेको छ ।
एमाले कैलालीको इन्चार्ज हुँदा आफू निर्वाचन जित्नका लागि संघ र प्रदेशको निर्वाचनमा कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीसँग आन्तरिक साँठगाँठ गर्दा पनि पराजित भएका नारदमुनी राना फेरि डेजीलाई नै अध्यक्ष बनाउन क्रियाशील रहेपछि एमालेमा लामो राजनीतिक इतिहास बोकेका नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् ।
नेतृत्व सहमतिमा चयन गर्न एमाले पोलिटब्यूरो सदस्य तथा कैलाली इन्चार्ज गणेश ठगुन्नाले फागुन तीन गते पाँचै पदमा आकांक्षीको उम्मेदवारी दर्ताको प्रकृया थालेका थिए । तर नेतृत्व हत्याउन आफ्नो पार्टीका भन्दा विपक्षी पार्टीका नेताको घरदैलो चहार्ने वर्तमान नेतृत्व र पार्टीलाई चलायमान बनाउन अहिलेका पदाधिकारीबाट सम्भव नदेखिरहेको अर्को खेमाबीचको तालमेल नमिल्दा सहमतिबाट नेतृत्व चयन सम्भव नदेखिएको पनि स्रोतको बुझाइ छ ।
अध्यक्षका लागि वर्तमान कार्यवाहक अध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे र निवर्तमान प्रदेश कमिटी सदस्य यज्ञराज ढुंगानाको उम्मेदवारी दर्ता भएकोे छ ।
यस्तै उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् ।
सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदीगरी सचिवमा १२ जनाले उम्मेदवारी दिने तयारीमा छन् ।
२ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् । उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारीले दाबी गरेका छन् ।
त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन् ।
नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि भोलि फागुन ६ र ७ गते कैलालीको घोडाघोडीमा अधिवेशन हुँदैछ । अधिवेशनको उद्घाटन गर्न एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि बिहान कैलाली आउने कार्यक्रम छ ।