काठमाडौं । सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिश गर्नेगरी ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको छ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्। उनले छानबिन गर्न गठित आयोगले सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० भित्र सुझाव सिफारिश गर्नेगरी ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको बताइन्।
सुनको अवैध पैठारी, तस्करी नियन्त्रणसम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुनेगरी फागुन मसान्तसम्म थपेको छ।
उनका अनुसार सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने विषयमा प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जयशंकर साहको परिवारलाई आर्थिक सहायतास्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ।
‘प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जयशंकर साहको परिवारलाई आर्थिक सहायतास्वरुप १० लाख उपलब्ध गराउने‚’ उनले भनिन्, ‘सुनको अवैध पैठारी, तस्करी नियन्त्रणसम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुनेगरी फागुन मसान्तसम्म थप गर्ने।’
सरकारले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललाई प्रदान गरिने इन्टरनेशनल मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिएको छ। जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि सरकारले गरेको उनले बताइन्।