काठमाडौं । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएका हुन्।
२०४४ सालमा च्याम्पियन फुटवेयरको नाममा हडपिएको उक्त जग्गा अहिले चौधरी ग्रुप सञ्चालक रहेको चाँदबाग रेसिडेन्सी प्रालिको नाममा थियो। मन्त्री अधिकारीका अनुसार बाँसबारी छालाजुत्ता उद्योगको ६ रोपनी जग्गा २०४४ साल भदौ ५ गते च्याम्पियन फुटवेरको नाममा गएको थियो।
त्यसपछि २०४४ मंसिर १८ गते थप ४ रोपनी सरकारी जग्गा च्याम्पियन फुटवेयर प्रालिको नाममा पास गरिएको थियो। मन्त्री अधिकारीका अनुसार कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयर प्रालिको नाममा लगिएको थियो।