काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोगका नवनियुक्त सदस्यलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले अहिलेका समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिए ।
उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने तथा एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरुरी रहेको उल्लेख गरे। उनले १६औँ योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेकाले योजनामा प्रस्ताव गरिएका रणनीति तथा कार्यक्रमलाई आउँदो वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न आयोगलाई निर्देशन दिए ।