काठमाडौं । उपप्राधन तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दिएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको बताए ।
सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि गर्ने अन्य कुनै तथ्य नरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो । उनले अनुसन्धानमा आफूले प्रभाव नपार्ने पनि बताए । कांग्रेस सांसदहरूले सहकारीमा गृहमन्त्री लामिछानेको नाम आएको भन्दै अनुसन्धान हुने बेलासम्म पदबाट हट्न भनेका थिए । जवाफमा लामिछानेले कांग्रेस सरकारमा हुँदा नै उजुरी आएको र तथ्य नभेटिएको स्पष्ट भएकाले आफ्नो प्रभाव अनुसन्धानमा नपर्ने बताए ।
‘सहकारीका विषय आएका छन् । एउटा सहकारीमा मेरै नाम भएको भन्ने आयो । जहाँ मेरो नाम छ, त्यहाँ नामबाहेक केही छैन । हस्ताक्षर, ल्याप्चे, केवाईसी केही छैन । न कुनै पत्र पाएको छु, न कुनै मुद्दा आएको छ,’ गृहमन्त्री लामिछानेले भने, ‘अदालतमा मुद्दा गएको छ । मुद्दामा म प्रतिवादी छैन, भएका प्रतिवादीको बयानमा रवि लामिछाने भन्ने नाम उल्लेख छैन ।’
प्रहरीकहाँ परेको जाहेरीमा पनि तथ्य नभएको कुरा प्रहरी महानिरीक्षक बसन्त कुँवरले स्पष्ट पारेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले आफ्नो संलग्नता नरहेको बताए । ‘प्रहरीमा जाहेरी छ, सूचनाका रूपमा, त्यो दर्ता नभएको कुरा पनि छ,’ उनले भने ।