काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन दलका शीर्ष तीन नेता बीच भेट भएको छ।
शनिबार साँझ प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको हो।
शीर्ष तीन नेताबीचको भेटमा संसद्, संक्रमणकालीन न्याय र संवैधानिक परिषद्को बैठकका विषयमा छलफल भएको बताएको छ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नतालाई लिएर संसद् अवरुद्ध गर्दै आएको छ। उसले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ।
संवैधानिक परिषद् बैठक पनि आइतबार बिहानै डाकिएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहन्छन्।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधिन छ। यी विषयहरुमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता देउवा र एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन्।