सराेज विश्वकर्मा
लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाएर तीव्र देश विकास गरि जनताको चाहनालाई पुरा गर्नु रहेको बताएका छन् ।
“स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला संस्कृति समृद्ध लमजुङको आधार” भन्ने नाराकासाथ शुक्रबारदेखि लमजुङकाे बेशिसहरमा सुरु भएकाे आठाै लमजुङ महाेत्सव २०८० को उद्घाटन तथा लमजुङ भ्रमण वर्ष २०८१ को घोषणा समारोहलाई सम्बोधन गर्दे उनले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ अब हामीले विशेष ध्यान दिनुपर्ने बताए ।
त्यसका लागि श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेकाे बताउनुभयाे कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकरणको मार्ग प्रशस्त गर्न सक्दछौँ, जुन ठूलो त्याग, बलिदान र संघर्षबाट प्राप्त हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पनि लक्ष्य रहेकाे राष्ट्रपति पौडेलले बताए । निजी क्षेत्रसँगको सहकार्यमा यहाँको पर्यटन क्षेत्रलाई आवश्यक जनशक्ति विकास तथा मौलिक कला, संस्कृति, सम्पदा र रैथाने उत्पादनलाई पर्यटनसँग आवद्ध गराउनुपर्नेमा उनले जोड दिए ।
जलविद्युतका धेरै आयोजनाहरू यसै क्षेत्रमा निर्माण भइरहेकाले भविष्यमा ऊर्जाको आपूर्ति सहज हुने हुँदा यस क्षेत्रमा उद्योग स्थापना गर्ने वातावरण समयमै सृजना गर्नु उपयुक्त हने धारणा व्यक्त गरे ।
देशका विभिन्न भागमा हुने महोत्सव तथा मेला पर्वहरूले सो क्षेत्रका धर्म, कला, सस्ंकृति, परम्परा संरक्षण र संवद्र्धन तथा यस क्षेत्रको पर्यटन, व्यवसाय तथा उत्पादनको प्रवद्र्धन, औद्योगिक, पूर्वाधार परियोजनाका लागि लगानीमैत्री वातावरणसमेत सृजना गर्न महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे ।
भौगोलिक रूपमा नेपालकै मध्यभागमा अवस्थित लमजुङ जिल्ला अनुपम प्राकृतिक सौन्दर्य, आस्थाका धरोहरका रूपमा धार्मिक सम्पदाहरू, गौरवपूर्ण ऐतिहासिक गाथा, लोकतान्त्रिक राजनीतिक आन्दोलनको उर्वर भूमि, साहित्य तथा सास्कृतिक पक्षका दृष्टिले पनि आकर्षणको केन्द्रमा रहेको राष्ट्रपति पौडेलले बताए ।

२००७ सालको परिवर्तनको पूर्वसन्ध्यामा जातीय भेदभाव, छुवाछुत विरुद्ध सामाजिक आन्दोलनको चम्किलो जागरण बनेको हलो क्रान्ति यही भूमिबाट उब्जिएको प्रसंग उल्लेख गर्दै उनले राजनीतिक चेतनाका लागि ब्राह्मणहरूले चलाएको सामाजिक जागरणको उक्त अभियानले राणा शासनको जग नै हल्लाइदिएको थियो र यहीबाट प्रजातन्त्रको उज्यालो प्रकाश पहाडी कन्दरा फैलिएको बताए ।
विश्वमै उत्कृष्ट पर्यटकीय पदयात्राको ख्याती कमाएको अन्नपूर्ण पदमार्गको प्रवेशद्वारका कारण आवश्यक सुविधा र पूर्वाधार खडा गरी यसले पर्यटन व्यवसायबाट लाभ लिन सक्ने प्रशस्त संभावना रहेको उनको भनाइ थियो ।
आन्तरिक पर्यटनको केन्द्र बनेको घले गाउँ, काउलेपानी र भुजुङसहितका गाउँ अनि होमस्टेहरू मात्र हैन गाउँशहर वेँशीशहर, राइनासटार, भोर्लेटार हुँदै चितिदेखि चसंकूसम्म, घनपोखरादेखि डाँडा– कुन्छासम्म र विचौरदेखि रिस्ति रम्घासम्मका पुराना नामी गाउँहरूले यहाँको मनोरम ऐतिहासिक आकर्षणको आयामलाई बढाइदिएको उनले बताए।
“यहाँको जस्तो जमिन रसिलो हो, मान्छे पनि रसिला र पाखा पखेरा पनि हसिला छन् । आफै हुर्केबढेको, संघर्ष र आन्दोलनका उकाली ओराली गरेको यही सुन्दर प्रकृति, संस्कृति र पाखा पखेरा देखेपछि अनि मलाई भन्न मन लाग्छ: ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरा, हिमालचुली मुन्तिर पानी भर्ने पँधेरो”, उनले भने ।

“धार्मिक, ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाः दिगो पर्यटन उद्योग – समुन्नत लमजुङको मार्गदिशा ” भन्ने अवधारणासाथ जिल्लाका भौगोलिक, ऐतिहासिक, साहित्यिक तथा साँस्कृतिक पर्यटनका गन्तव्यहरूका अलावा प्राकृतिक सम्पदाहरूको प्रचार प्रसार गरी जिल्लाको दिगो पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन यस्ता कार्यक्रमले सहयोग दिने उनले विश्वास व्यक्त गरे। “यस्ता अभियान र गतिविधिले राष्ट्रिय अर्थतन्त्रमासमेत महत्वपूर्ण टेवा पुर्याउने छ भन्ने विश्वास लिएको छु”, उनले भने ।
स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला संस्कृति समृद्ध लमजुङको आधार भन्ने नाराकासाथ सञ्चालन भएकाे आठाै लमजुङ महाेत्सब २०८१ बैशाख ३ गतेसम्म सञ्चालन हुने आयाेजक लमजुङ उद्याेग बाणिज्य संघले जनाएकाे छ ।
