काठमाडौं । गण्डकी प्रदेशमा भएको मुख्यमन्त्री नियुक्ती सम्बन्धि मुद्दामा सर्वोच्च अदालतले अग्राधिकारसहित अन्तरिम आदेश जारी गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार एमाले नेता खगराज अधिकारीलाई सभामुखसहित गणनाका आधारमा मुख्यमन्त्री नियुक्त गरेपछि निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
मंगलबार दिइएको रिट उपर बुधबार दुबैतर्फबाट बहस सकेर कारण देखाऊ आदेश जारी भएको हो । न्यायाधीश विनोद शर्माको इजलासले वैशाख ७ गतेभित्र लिखित कारण दिन आदेश दिएको हो ।
‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम उत्प्रेषण समेतको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सो खुलाई गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालय मार्फत मुख्यमन्त्री पदमा गरिएको नियुक्तिसहित तत्सम्बन्धी कागजात समेत सक्कलै फायल साथै राखी लिखित जवाफ पेस गर्नुहोला,’ आदेशमा भनिएको छ ।
अधिकारीलाई नियुक्त गरिएकोमा संवैधानिक व्याख्याको प्रश्न, संसदीय अभ्यास, अदालतबाट स्थापित सिद्धान्त लगायत विषयमा निरूपण हुन आवश्यक देखिएको आदेशमा भनिएको छ ।

