काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्ममतापूर्वक अघि बढ्ने बताएका छन्।
गृह र अर्थ मन्त्रालयद्वारा वीरगन्जमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका हुन्।
गृहमन्त्री लामिछानेले बिलविजकको विषयमा सरकारले गम्भीरतापूर्वक लिने उल्लेख गर्दै भने ‘अन्डरबिलिङ, गलत बिलिङको जुन समस्या देखिएको छ। त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न कदम चाल्ने रणनीतिसहित अघि बढ्नेछौँ। बिल नबनाउने, गलत बिल बनाउने, एउटा सामान ल्याउँदा अर्को समानको बिल गराउने कार्यलाई गम्भीरतापूर्वक लिन्छौँ।’
गृहमन्त्री लामिछानेले राजस्व सङ्कलनमा देखिएका चुनौतीलाई समाधान गर्नका निमित्त सक्रिय भएर सरकार लागि परेको उल्लेख गरे।