काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कांग्रेस नेता डा. नारायण खड्काको निवासमा देउवा र नेपालबीच बुधबार बेलुका भेटवार्ता भएको हो ।
भेटमा सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा देखिएको समस्याबारे कुराकानी भएको स्रोतले बताएको छ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई नेकपा एमालेले समर्थन गर्न आनाकानी गरिरहेको बेला देउवा र नेपाल बीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ ।
स्रोतका अनुसार दुई नेताबीच सुदूरपश्चिममा सोडारीलाई नेकपा एमालेले साथ नदिए कांग्रेसले सघाउने सहमति भएको छ ।
तर, देउवा केही सर्त राखेर सोडारीको नेतृत्वमा सरकार बनाउन सहमत भएको बताइएको छ । करिब डेढ घण्टा भएको कुराकानीमा दुई नेताबीच वैकल्पिक समीकरणका विषयमा पनि कुराकानी भएको बताइएको छ ।