एजेन्सी । सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको मृत्यु भएको छ । ६२ वर्षीय रिचर्ड ‘रिक’ स्लेम्यानको शल्यक्रिया गरेको दुई महिनापछि मृत्यु भएको अस्पतालले जनाएको हो ।
उनी मार्चमा शल्यक्रिया गर्नुअघि अन्तिम चरणको मिर्गौला रोगबाट पीडित थिए । म्यासाचुसेट्स जनरल अस्पताल (एमजिएच)का अनुसार उनको मृत्यु प्रत्यारोपणको परिणाम हो भन्ने कुनै संकेत छैन । आनुवंशिक रूपमा परिमार्जित सुँगुरबाट अन्य अंगको प्रत्यारोपण विगतमा असफल भएको थियो, तर स्लेम्यानको शल्यक्रियालाई ऐतिहासिक कोसेढुंगा बताइएको थियो ।
मिर्गौला रोगको अतिरिक्त स्लेम्यान टाइप टु मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए । सन् २०१८ मा उनको मानव मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर, यो पाँच वर्षपछि असफल हुन थालेको थियो । १६ मार्चमा सुँगुरको मिर्गौला प्रत्यारोपणपछि उनका डाक्टरले नयाँ अंगले राम्रोसँग काम गरिरहेको बताउँदै उनलाई अब डायलाइसिसको आवश्यकता नरहेको पुष्टि गरे । ‘स्लेम्यानलाई विश्वभरका अनगिन्ती प्रत्यारोपण बिरामीहरूका लागि सधैँ आशाको किरणको रूपमा हेरिनेछ र हामी उहाँको विश्वास र जेनोट्रान्सप्लान्टेसनको क्षेत्रलाई अगाडि बढाउने इच्छाका लागि आभारी छौँ,’ एमजिएचले एक विज्ञप्तिमा भन्यो । जेनोट्रान्सप्लान्टेसन एक प्रक्रिया हो जहाँ जीवित कोषिका, तन्तु वा अंगलाई एक प्रजातिबाट अर्कोमा प्रत्यारोपण गरिन्छ ।
एमजिएचले उनको आकस्मिक मृत्युमा गहिरो दुःख प्रकट गर्दै उनको परिवारलाई समवेदना प्रकट गरेको छ । स्लेम्यानका आफन्तहरूले उनको कथा प्रेरणादायी भएको बताएका छन् । ‘स्लेम्यान यो प्रक्रियाबाट गुज्रनुको एउटा कारण भनेको हजारौँ मानिसहरूलाई बाँच्नका लागि प्रत्यारोपण आवश्यक पर्ने आशा प्रदान गर्नु थियो,’ उनीहरूले भने, ‘उनले त्यो लक्ष्य पूरा गरे र उनको आशा सधैँ रहनेछ ।’
स्लेम्यानले मानवमा प्रत्यारोपण गर्न पहिलो सुँगुरको मिर्गाैला प्राप्त गरे पनि यो प्रत्यारोपण प्रक्रियामा प्रयोग हुने पहिलो सुँगुरको अंग भने होइन । दुई अन्य बिरामीले सुँगुरको मुटु प्रत्यारोपण गरेका छन्, तर ती प्रक्रिया असफल भए किनभने प्राप्तकर्ताहरूको केही हप्तापछि मृत्यु भएको थियो । एउटा अवस्थामा बिरामीको प्रतिरक्षा प्रणालीले अंगलाई अस्वीकार गरेको संकेत देखाएको थियो, जुन प्रत्यारोपणमा सामान्य जोखिम हो ।
अमेरिकी स्वास्थ्य विभागको वेबसाइटअनुसार यो वर्षको मार्चसम्म ८९ हजारभन्दा बढी बिरामी राष्ट्रिय मिर्गौला प्रतीक्षा सूचीमा थिए । अंग प्रत्यारोपणको प्रतीक्षामा हरेक दिन औसत १७ जनाको मृत्यु हुने गरेको छ ।
बिबीसी