काठमाडौं । भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र’आचार्य’ असार ७ गतेदेखि पुनः प्रदर्शनमा आउने भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्मलाई १३ वर्षपछि पुनः प्रदर्शनमा ल्याउन लागिएको जानकारी दिइएको हो।
गत फागुनमा निधन भएका गायक भक्तराज आचार्यको यो वायोपिक फिल्मलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शनमा ल्याउन लागिएको छ। प्रशान्त रसाईलीको निर्देशनमा तयार फिल्ममा गायक आचार्यको भूमिका उनकै जेठा छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन्। सत्यराजसहित सुनिल पोखरेल, अरूणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ।
यसका निर्माता समेत रहेका सत्यराजले पहिलो पटक फिल्म रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः प्रदर्शन गर्न लागिएको बताए। यो बुवाप्रति ट्रिब्युट पनि रहेको उनको भनाई छ।
उनका अनुसार, नयाँ फिल्मजस्तै गरी यसलाई रिलिज गरिनेछ। आगामी साता ट्रेलर रिलिज गरिँदैछ। फिल्म प्रदर्शनअघि राजधानीमा फिल्मको भव्य प्रिमियर शोको आयोजना गरिने जनाइएको छ।
भजन शिरोमणी भक्तराज आचार्यलाई श्रद्धाञ्जली स्वरूप फिल्म पुनः रिलिज गर्न लागिएको छोरा स्वरूपराज आचार्यले बताए। ‘
फिल्ममा भजन शिरोमणी तथा बरिष्ठ गायक भक्तराज आचार्यको निधनपश्चातका फुटेजहरू पनि समावेश गरिएका छन्।
पुनः प्रदर्शन घोषणा कार्यक्रममा संगीतकार लक्ष्मण शेष, चेतन सापकोटा, बसन्त सापकोटा लगायतको समेत उपस्थिति थियो।