एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतले लोकसभा चुनाव जितेकी छन् । भारतीय जनता पार्टी (बीजेपी)बाट हिमाचलको मण्डी निर्वाचन क्षेत्रमा उम्मेदवार बनेकी उनले ७० हजारभन्दा बढी मतान्तरका साथ लोकसभाको सिट जितेकी हुन् । कंगनाको चुनावी प्रतिस्पर्धा कांग्रेस नेता तथा पूर्व मुख्यमन्त्री वीरभद्र सिंहका छोरा विक्रमादित्यसँग भएको थियो । चुनाव जितेपछि उनी खुसी देखिएकी छन् ।
सांसद् भएपछि उनले इन्टाग्राममा लेखेकी छन्, ‘मण्डीबासीको यो जनाधार, प्रेम र विश्वासका लागि आभारी छु । यो जीत तपाईंहरु सबैको हो र यो जीत हो प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीमाथिको विश्वासको, यो जीत हो सनातनको र यो मण्डीको सम्मानको जीत हो ।’ उनले आफ्नो प्रतिद्वन्द्वी विक्रमादित्य सिंहप्रति पनि कटाक्ष गर्दै ‘अब झोला प्याक गरेर घर जान’ भनेकी छन् ।