काठमाडौं । उद्योगहरूमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता रकम असुली गर्ने निर्णयमा नेपाल विद्युत् प्राधिकरण पछि नहट्ने भएको छ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नभएको बिल जेनेरेट गर्यो भन्ने गलत आरोप लागेको भन्दै रेकडेट इनर्जीमा थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको स्पष्ट पारे।
‘डेडिकेटेड र ट्रंक लाइनको कुरा गर्दा लोडसेडिङको बेलामा इण्डियाबाट पनि आयात गरेका थियौँ। केही समय हामीले लोडसेडिङ घटाउने गरेर हेटौँडा डिजेल प्लान्ट पनि चलाएका थियौं,’ उनले भने, ‘आयात गर्ने सिलसिलामा कस्ट बढेको पनि होला । तर डेडिकेटेडको पैसा तिर्दा पनि उहाँहरूले पर युनिट साढे ११ रुपैयाँ भन्दा माथि परेको छैन । जबकि नर्मल रेट १३ रुपैयाँ थियो।’
इनर्जी सँधै रेकडेट इनर्जी भएको बताउँदै उनले त्यो रेकडेट इनर्जीमा मात्रै थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको बताए। त्यसैले यसलाई उठाउनुपर्छ भन्नेमा आफूहरु रहेको उनले बताए।
उनले सबै अवस्थालाई मध्यनजर गरेर बिलिङ गरेको भन्दै लोडसेडिङ अन्त्य भइसकेको अवस्थामा नर्तिने हो भने निरन्तर टेरिफ तिरिरहेकाहरु मध्य एक जनाले एउटा उद्योगलाई १४ करोड फिर्ता दिनुपर्ने अवस्था रहेको बताए।
‘अहिले हामीले सबै अवस्थालाई मध्यनजर गरेर बिलिङ गरेका छौं। ०७४ सालदेखि हिमाल स्टिल र डावरहरु जस्ता केही उद्योगहरुले लोडसेडिङ अन्त्य भइसकेको अवस्थामा पनि टेरिफ तिरिराख्नु भएको छ,’ उनले भने, ‘यदी अहिले लोडसेडिङ अन्त्य भइसकेपछि नतिर्ने हो भने एक जनाले डावरलाई १४ करोड फिर्ता गर्नुपर्छ । १७४ वटा उद्योगले तिरिसकेको अवस्था छ।’
उनले आफूले प्राधिकरणको नेतृत्व लिएपछि हालसम्म करिब २५ प्रतिशत विद्युत् महसुल घटाएको र करिब २५ लाख सर्वसाधारणलाई निःशुल्क विद्युत् उपभोग गर्ने अवस्था बनाएको दाबी समेत गरे ।